Logo

Oct 28 2026 | २०८३, कात्तिक १२ गते

Oct 28 2026 | २०८३, कात्तिक १२ गते

images
बाढीले क्षति

वडा कार्यालय भवन दरमखोलामा ढल्यो, भाडाको घरबाट सेवा दिने तयारी

वडा कार्यालय भवन दरमखोलामा ढल्यो, भाडाको घरबाट सेवा दिने तयारी

बागलुङ । बाँसखोलाको समथर ठाउँमा रहेको थियो, गलकोट नगरपालिका वडा नम्बर ९ को कार्यालय । स्थानीय, जनप्रतिनिधि र प्राबिधिकले जोखिम नभएको देखेरै यहाँ कार्यालय भवन बनाए । तर गत असोज ११ गते दरमखोलामा अकल्पनीय बाढी आयो । बाढीले उक्त भवन बगायो । भवन बगाएपछि वडाध्यक्ष जेतबहादुर थापालाई रातमा पनि निन्द्रा परेको छैन ।

पहिलो कार्यकालमै कार्यालय भवन बनाउन थापाले निकै ठूलो मेहनत गरे । दोस्रो कार्यालय पूरा नहुँदै सुन्दर भवन बन्यो । सोही भवनबाटै कार्यालयको कामकाज हुँदै आएको थियो ।  तर गत आइतबार साँझ दरमखोलामा आएको बाढीले एकाएक भवन लडाइ दियो । आँखै अगाडि निकै मेहनत गरेर ठडाएको कार्यालय भवन दरमखोलामा ढल्दा वडाध्यक्ष थापा निकै चिन्तित छन् । विहान बेलुका उनले दमखोलामा लडेको भवन हेर्छन् । लडेको भवनबाट केही अति आवश्यक सामान झिक्न सकिन्छ भनि जोखिम मोलेर भित्र छिर्छन् । 

भवनबाट कतिबेला कुर्ची, कतिबेला, टेवल त कतिबेला कम्प्युटरका पार्टपुर्जा निकालेर बाहिर आउँछन् । बाढीले भवन लडाउला भन्ने गाउँका कसैले पनि कल्पना गरेका थिएनन् । जब दरमखोलामा बाढी आयो, तब खाली जमिन कटान गर्दै भवनसम्म आइपुग्यो । अन्ततः भवननै लडाइ दियो । यतिबेला भवन दरमखोलामा ढलेको छ । 

संघीयता स्थापनापछिको पहिलो स्थानीय चुनावबाट निर्वाचित भएका थापाले सुरुमै भवन बनाउन थालेका थिए । ०७९ सालको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएपछि उनले सुविधा सम्पन्न भवन बनाए । नगरपालिकाको ८० लाख रुपैयाँमा लगातमा गाडी पार्किङ र बगैचासहितको भवन बनेको थियो । अहिले भवन खोलामा लडेको अवस्थामा छ भने बगैचा र पार्किङ स्थलको नाम निसाना छैन ।

बाढीले भवन बगाउन थालेपछि स्थानीयहरुले अति आवश्यक कागजपत्र निकालेका थिए भने अन्य सामानहरु भने भवनैसँग खोलामा पुगे । अहिले पनि भवनबाट केही सामानहरु निकाली रहेका छन् । अध्यक्षनै लडेको भवन भित्र छिरेर सामान निकाल्न थालेपछि गाउँका अरु युवाहरुले पनि अध्यक्ष थापालाई साथ दिने गरेका छन् ।

बाढीले अध्यक्ष थापाको लाखौँ रुपैया मूल्य पर्ने धान खेत बगायो । तर उनलाई आफ्नो धानखेतको भन्दा बढी चिन्ता वडा कार्यालय भवनको छ । उनको खेत अहिले बगरमा परिणत भएको छ । बाढीले भवन भत्काइ दिएपछि अहिले नजिकैको गाउँको एउटा घर भाडामा लिएर सेवा सुचारु गर्न थालिएको छ ।

अध्यक्ष थापा भन्छन् – ‘यसपाली दरमखोलाले हामीलाई निकै दुःख दियो, हामीले कल्पना गरेभन्दा बाहिरको घटना भयो, यस्तो घटना सायद पछिल्लो दशकमा भएको थिएन होला, अहिले भवन खोलामा लडेको छ, त्यही भएर एउटा घर भाडामा लिएर जनतालाई सेवा दिन थालेका छौँ ।’

उनलाई भवनसँगै आफ्नो इतिहास मेटिने चिन्ताले निकै सताउने गरेको छ । दुई कार्यालय वडाध्यक्ष भएर गरेको कामको दस्तावेजनै मेटिने गरि बाढीले भवन बगाई दिएकोमा उनी निकै दुःखी छन् । भवन नभए पनि जनता सेवा पाउनबाट विमुख नहुने उनी सुनाउँछन् ।

‘भवनसँगै मेरो इतिहास मेटियो, यहाँ मेरो दुई÷दुई कार्यकालको एक÷एक थोपा पसिना छ, मैले गरेको एउटा उपलब्धी थियो तर त्यो मेटियो’ उनले भने – ‘मेरो धान खेत बगेर मलाई केही चिन्ता लागेको छैन, म एक पटक पनि त्यो खेतमा पुगेको छैन, तर वडा कार्यालय लडेको ठाउँमा दिनमा १० पटक आउँछु, यहाँ आएर यो दृश्य देख्दा आँखा रसाउँछ ।’

बाढीले भवनसँगै १५ लाख रुपैयाँ लगातमा जडान गरेको सोलार बत्तीसमेत बगाएको छ । यो भवन गलकोटका ११ वडा मध्य सबैभन्दा पहिले निर्माण भएको र सुविधायुक्त थियो । खोलामा लडेको भवन अझै पनि बलियो रहेको अध्यक्ष थापाले सुनाए । उठाएर पुनःस्थापना गर्न मिल्ने भए गर्ने उनको भनाइ छ । तर त्यसरी लडेको भवन उठाएर पुनःनिर्माण गर्दा प्राबिधिक रुपमै जोखिमपूर्ण हुन्छ ।

बाढीले गलकोट नगरपालिका क्षेत्रका २२ घरमा क्षति पुर्‍याएको छ । नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको विवरणअनुसार बाढीले घर, गोठ तथा विभिन्न व्यवसायमा क्षति पुगेको हो । बाढीले गलकोट नगरपालिका–५ हरिचौर र ६ चरौंदीमा सबैभन्दा बढी क्षति पुर्‍याएको छ ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative