यस वर्ष २० लाखकाे चिया विक्री गर्ने तयारी
बागलुङ । बसाइँसराइ बढ्न थालेपछि रेश गाउँमा खेतीयोग्यसँगै पाखो जमिन झाडीले ढाकिन थालेको थियो । दिनप्रति दिन गाउँमा जमिन बाँझिन थालेपछि यहाँका वडा अध्यक्ष प्रेम लामिछानेले चिया खेती लगाउने जुक्ति निकाले । अहिले अध्यक्ष लामिछानेको जुक्ति आयआर्जन गर्ने गतिलो माध्यम बन्न थालेको छ । त्यति मात्रै होइन रेश गाउँको परिचयनै बदलिन थालेको छ । हिजोआज रेश गाउँको पहिचान चिया गाउँ बनेको छ ।
बागलुङको काठेखोला गाउँपालिका–७ मा पर्ने रेश गाउँमा अहिले चिया खेती फैलिदै गएपछि स्थानीयसमेत यसतर्फ आकिर्षत हुँदै गएका छन् । सात वर्ष अगाडि सुरु गरेको चिया खेती अहिले फस्टाउन थालेपछि गाउँलेले बाँझो जमिनसमेत खनी खोस्री चियाका विरुवा लगाउन सुरु गरेका छन् । बसाइँसराइ गर्न ठिक्क परेका स्थानीय गाउँमै रोकिएका छन् । गाउँ छेउँको चिया बगानले गाउँलेलाई खुसी मात्रै दिएको छैन, आयआर्जनमा समेत टेवा पुर्याउन थालेको छ ।
वि.सं. २०७६ सालमा ताराखोला गाउँपालिकाको सिरुबारीबाट करिब ३० हजार विरुवा लिएर परीक्षण लगाइएको थियो । सुरुमा विरुवा लगाउँदा धेरैलाई आम्दानी गर्न सकिन्छ भन्ने विश्वासनै लागेको थिएन । कतिपयले त ‘नहुने काम गर्ने थाले’ भन्थे । तर बिस्तारै विरुवा राम्रो हुँदै गएपछि स्थानीयमा आशा पलाएको थियो । अघिल्लो वर्षदेखि उत्पादन हुन थालेको अध्यक्ष लामिछानेले बताए । अहिले अघिल्लो वर्षको तुलनमा धेरै उत्पादन भएको उनको भनाइ छ ।
सुरुमा जनकल्याण आधारभूत विद्यालयको ३५ रोपनी जग्गामा चियाखेती सुरु गरिएको भन्दै अहिले गाउँको धेरै खाली जग्गामा चिया लगाइएको उनको भनाइ छ । अहिले गाउँका खाली जग्गामा रहेको झाडीसमेत फाडानी गरेर चिया लगाइएको अध्यक्ष लामिछाने बताउँछन् ।
अध्यक्ष लामिछानेले भने – “चिया खेती राम्रो भएपछि हामीहरु निकै उत्साहित भएका छौँ, हिजोका दिनमा बाँझो बनेको जमिन अहिले चियाले ढाकिएको छ, पैसा फल्न थालेको छ, हामीहरुले गाउँका सबै नागरिकलाई जोड्न थालेका छौँ, चियाले अब बसाइँसराइ पनि रोक्ने अपेक्षा लिएका छौँ, अहिले व्यक्तिगत रुपमा धेरैले चियाका विरुवा लगाउन थाल्नु भएको छ ।”
रेश साना किसान सहकारी संस्थामार्फत चिया खेती थालिएको थियो । अध्यक्ष लामिछानेका अनुसार वर्षको ९ महिना चिया टिप्न सकिन्छ । यस वर्ष दुई पटक टिपेको भन्दै प्रतिकिलो रु दुई हजारका विक्री हुने गरेको उनको भनाइ छ । यस वर्ष रु २० लाखको चिया विक्री हुने लामिछानेले बताए ।
रेश साना किसान सहकारी संस्थाका अध्यक्ष उजेली शर्माले चिया राम्रो उत्पादन भए पनि प्रशोधन गर्ने मेसिनको अभाव हुँदा समस्या भएको बताइन् । उत्पादन भएको चियाका लागि बजारको समस्या नभएको उनको भनाइ छ । अहिले बागलुङ, पोखरा, काठमाडौँ लगायतका बजारमा यहाँको चिया पुग्ने गरेको अध्यक्ष शर्मा बताइन् ।
“चियाले बजार नपाउला भन्ने समस्या छैन, हामीलाई समस्या भनेको मेसिनको हो, प्रशोधन गर्ने मेसिन नहुँदा अहिले हातैले काम गर्नु परेको छ, यसरी काम गर्दा अलि समस्या हुँदो रैछ” शर्माले भनिन् – “सरकारबाट मेसिनको सहयोग हुन्थ्यो भने उत्पादन बढाउन सकिन्छ, चियाले अब यस गाउँका नागरिकको जीवनस्तर परिवर्तन गर्दा भन्ने अपेक्षा लिएका छौँ ।”
अहिले रेश गाउँको टिङरिङ, बौर, फलायडाँडा लगायत ३०० रोपनी क्षेत्रमा चिया खेती गरिएको अध्यक्ष शर्माले जानकारी दिइन् । चिया खेतीमा गाउँका करिब २८० घर परिवार चिया खेतीमा आवद्ध भएको उनको भनाइ छ ।
जनकल्याण आधारभूत विद्यालयका अध्यक्ष डम्मर बहादुर थापाले चिया खेतीले गाउँमा नयाँ उत्साह जगाएको बताए । विद्यालयको जग्गा धेरै भए पनि झाडीले ढाकिएको स्मरण गर्दै अहिले यहाँबाट पैसा फल्न थालेको उनको भनाइ छ । चिया खेतीका लागि गाउँलेहरु एकताबद्ध भएर लाग्दा अहिले परिणाम आउन थालेको थापाले बताए ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative