बागलुङ । भूजीखोलाका तिरैतिर छरिएको बस्ती थियो । भर्खर–भर्खर सडकले जोडिएको हुँदा स्थानीयले मोटरबाटोको छेउकुँना केही पक्की त केही सामान्य खालका घर बनाएका थिए । खोलाको छोटो दूरीमै थिए, विद्यालय, स्वास्थ्य संस्था र विद्युत गृहहरु । विकासले विस्तारै जोडिदै गरेको विकट क्षेत्रका नागरिकमा खुसी पलाउँदै थियो । वि.सं. २०७७ भदौ १७ गते राति भूजीखोलामा भिषण बाढी आयो । उक्त बाढीले भूजीखोलावासीको सर्वस्व लुट्यो । दर्जनौँ नागरिकको ज्यान लियो, सयौँलाई परिवार र घरबारविहीन बनायो ।
आफन्त र भएभरको सम्पत्ति गुमाएका पीडितले अझै पनि राज्यबाट सहयोग पाउन सकेका छैनन् । ३७ जनाको ज्यान जाने गरि आएको बाढीले पुर्याएको क्षति बेहिसाब छन् । त्योभन्दा बढी बेहिसाब छन्, बाढी पीडितको दुःख । बाढीमा परेका १५ जना अझै वेपत्ता छन् । बाढी गए पश्चात सरकारले पीडितको पुनःस्थापनलाई प्राथमिकता दिने भने पनि अहिलेसम्म ध्यान नपुग्न नसरेको उनीहरुको गुनासो छ । घर निर्माण गरेपछि राहत उपलब्ध गराउने भनिए पनि अहिलेसम्म धेरैले भुक्तानी पाएका छैनन् ।
बाढीले ढोरपाटन नगरपालिका–६, ७, ८ र ९ का १३१ घर बगाएको थियो । पीडितले ऋणधन गरेर अहिले घर बनाई सके । तर राहत अझै पाएको छैनन् । ढोरपाटन–९ का बाढी पीडित लालबहादुर विकले घर बनाउनका लागि सरकारले रकम पठाउने आश्वासन दिए पनि अहिलेसम्म कत्ति पनि सहयोग नपाएको गुनासो गर्नुभयो । बाढीले उनको जेठो छोरा र भएभरको घर सम्पत्ति बगाएको थियो । राहत आउँछ भन्दाभन्दै पाँच वर्ष बितिसकेको भन्दै अब पाउन आशसमेत मरि सकेको उन बताउँछन् ।
विकले भने – “बाढीले भएभरको सम्पत्ति बगायो, छोरो बगायो, कति समय त पाल मुनी बस्यौँ, सधैँभरी पाल मुनी बसेर जीवन चल्दो रैनछ, सरकारले पनि राहत दिन्छ घर बनाउ भनेपछि गाउँमा ऋण काडेर घर बनायैँ, तर अहिले न सरकारले पैसा दियो, न साहुको ऋण तिर्न सकियो, हामीहरु धेरै पीडामा पर्याैँ, राज्यले राहत देला भनेका थियौँ आहत दियो ।”
अर्का पीडित नारायण पुनले सरकारबाट पाउने भनिएको रु चार लाख मध्ये अहिलेसम्म कत्ति पनि रकम पाउन नसकेको सुनाए । बाढीमा आमा र घर बगाएको भन्दै अहिले घर निर्माण गरि सकेको बताए । केही आफ्नो कमाई र केही रकम ऋण गरेर घर बनाएको उनको भनाइ छ । नेताहरुले आफ्ना वरपरका र नजिकका आफन्तलाई मात्र राहत दिलाएको पुन बताउँछन् ।
“हामी राम्रोसँग कुरा गर्न राख्न पनि नसक्ने सिधा भयौँ, टाढाबाठाले त पाउनु पर्ने राहत पाइसके, राहत पाएपछि ऋण तिर्ने गरि घर बनायौँ तर अहिलेसम्म पाउन सकेनौँ, प्राबिधिक आएर कहिले के भन्छन्, कहिले के, दुःख मात्रै दिने काम भयो” उनले भने – “हाम्रोभन्दा कम गुणस्तर र अव्यवस्थित रुपमा बनेका घरहरुले राहत पाइसके, धेरैले अझै पाउन सकेका छैनौँ ।”
सोही ठाउँका बाढी पीडित कुलबहादुर विकले घर बनाएको ऋणले अहिले समस्यामा परेको बताए । बाढीले घर जग्गा जमिनसहित २२ वर्षका जेठो छोरो, २१ वर्षकी बुहारी, १८ वर्षकी छोरी र चार वर्षकी नातिनी बगाए सुनाउँदै अहिले ऋणको भारीले थिचिरहेको विकले सुनाए । आफूले जम्मा रु दुई लाख ५० हजार पाएको भन्दै घर बनाउँदा रु पाँच लाख खर्च भएको उनको भनाइ छ ।
“बाढीले परिवारनै बगायो, सम्पत्ति बगायो, त्यसमाथि सरकारले पैसा दिन्छु घर बनाउ भनेर भन्यो, ऋण खोजेर घर बनाएँ, न सरकारले पैसा दियो, न कतैबाट सहयोग आयो, अहिले साहुले पैसा माग्छ, आफूलाई विहान के खाउँ, बेलुका के खाउँ भन्ने पिर छ,” उनले भने – “अहिले ऋणले डुबायो, के गरेर तिर्ने ?, गाउँका अरु धेरै बाढी पीडितहरुको अवस्था मेरो जस्तै छ ।”
बाढीले ११ वटा लघु जलविद्युत आयोजना, एउटा स्वास्थ्य इकाई, ११ वटा झोलुङ्गे पुल, १० वटा काठे पुल, ५ वटा ढलान पुल, दुई वटा विद्यालय र २० किलोमिटर सडक बगाएको थियो । बाढीले क्षति पुर्याएका जलविद्युत, विद्यालयको पुनःनिर्माण भएको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले बताए । संघीय सरकारले १८ जना बाढी पीडितलाई घर बनाउनका लागि सबै किस्ता उपलब्ध गराए पनि अझै धेरैले एक किस्ता बाहेक अरु रकम नपाएको उनको भनाइ छ ।
उपप्रमुख कायतले भने – “पीडितहरुले प्राबिधिक स्टिमेट अनुसार घर बनाउनु पर्ने हो, विभिन्न कारण उनीहरुले सकेनन्, तर घर चाहीँ सबैको बनेको छ, सरकारले दिने रकम एक तिहाईले पनि पाउन सकेका छैनन्, यसका लागि हामीहरुले पहल गरि रहेका छौँ, बाढीले बगाएका विद्यालय, स्वास्थ्य संस्था, पुल र सडक पुनःनिर्माण भएर संचालनमा आइसके ।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative