बागलुङ । यतिबेला म्याग्दीको विकट बस्तीहरुमा चुनावी प्रचारमा छन् महावीर पुन । आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट उम्मेदवार बनेका पुन विहान सबेरैदेखि राति अबेरसम्म गाउँ बस्तीमै भेटिन्छन् । माघ ६ गते मनोनयन दर्ता गरे लगत्तै मतदाता भेटघाटमा लागेका पुन अहिले गाउँ बस्तीमा पुगेर मत मागिरहेका छन् ।
मतदाता भेट्न गाउँ–गाउँ पुगेका महावीरका साथमा न कार्यकर्ता छन्, न त बडेमानका पर्चा पम्पप्लेट । न त छ तामझाम । उनका साथमा छन्, त केवल सवारी चालकसहित एक सहयोगी र केही थान सुशासन स्थापना गर्ने सपना । त्यही सपना बोकेर महावीर जनताका घर र बस्तीमा पुगि रहेका छन् । टोल र बस्तीमा पुगेका महावीरले जनताबाट अथाह माया र सद्भाव बटुली रहेका छन् ।
पुनले हरेक दिन सामाजिक सञ्जालमार्फत भोलीपल्टको कार्यक्रमको समय तालिका सार्वजनिक गर्छन् । सोही अनुसार टोल–टोलमा मान्छेहरु जम्मा भएर महावीरलाई पर्खिएर बस्छन् । पुनले हरेक टोलमा एक घण्टाभन्दा बढी समय बिताउँदैनन् ।
उनले एकै दिनमा दर्जन बढी बस्तीमा पुगेर मतदाता भेट्छन् । भौगोलिक रुपमा विकट रहेको म्याग्दीमा एक ठाउँदेखि अर्को गाउँ पुग्न घण्टौँ लाग्छ । यद्यपी पुनले अधिकांश बस्तीमा पुगेर मतदाता भेटिसके । बाँकी भएका बस्तीमा पुग्ने यात्रामै छन् ।
‘मन लागे भोट देउ, नलागे नदेउ’
महावीरको हिजोआज बस्ने, खाने र सुत्नेको ठेगान छैन । उनी प्रचारको क्रममा जहाँ पुग्छन्, त्यही बास माग्छन् । त्यहीँ खान्छन् र त्यही सुत्छन् । साथमा कार्यकर्ता नभएको हुँदा पुनलाई बास दिने र एक छाक खाना खान दिने धेरै भेटिन्छन् । साँझपखनै भोलीपल्टको मतदाता भेट्ने स्थान र समय फेसबुकमा राख्ने हुँदा गाउँ–गाउँका मतदाता जम्मा भएर बस्छन् ।
जम्मा भएर बसेका मतदाताकहाँ पुगेर महावीरले आफ्ना कुरा सुनाउँछन् । पुनको स्वभाव पनि अलि फरकनै छ । उनी हरेक नागरिकसँग झुकेर बोल्दैनन् । ठाडो स्वभावका उनी कसैलाई पनि ‘मलाई मत देउ’ भन्दैनन् । बरु ‘मन लागे भोट देउ, नलागे नदेउ’ भन्छन् ।
पुनलाई भेट्न जम्मा भएकाहरुले मत दिने आवश्वासन मात्रै दिँदैनन् । धेरै थोरै आर्थिक सहयोगसमेत गर्छन् । कतिपय ठाउँमा त पुनलाई पैसाकै माला लगाई दिने गर्छन् भने कतिपय गाउँमा लाख–लाखनै थमाई दिने गरेका छन् । यद्यपी पुनले सहयोग रकम कति संकलन भयो भन्ने सार्वजनिक गरेका छैनन् ।
शिक्षा प्रणालीमा सुधार ल्याउने धोको
गत भदौ २३ र २४ को जेन्जी आन्दोलनपछि बनेको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री बनेका महावीर पुन माघ ५ गतेसम्म चुनाव लड्ने/नलड्ने निश्चित थिएन । मन्त्रीसमेत अनिच्छाले भएको बताउँदै आएका महावीर एकाएक मनोनयन दर्ता गर्दा धेरैलाई आश्चर्य लागेको थियो ।
पुनले अहिले सार्वजनिक शिक्षा सुधार्ने विषयलाई प्रमुख एजेण्डा बनाएर प्रचारमा छन् । शिक्षामा भएको भ्रष्टाचार, अनियमितता, मनपरीतन्त्र र राजनीतिकरणलाई अन्त्य गर्न चाहेको पुनले बताए । मन्त्री हुँदा शिक्षासम्बन्धी ऐन तथा नियमावली ल्याउन असफल भएको भन्दै अब त्यसलाई पूरा गर्न संसदमा पुग्नु पर्ने हुँदा चुनावमा होमिएको उनले सुनाए ।
पुनले गत पुस महिनामै शिक्षा नियमावली, विश्वविद्यालयसम्बन्धी ऐन, उच्च शिक्षा ऐन र अनुसन्धान तथा नवप्रवर्तन कोष सम्बन्धी ऐन ल्याउन खोजेका थिए । आफू संलग्न सरकारबाटै असहयोग भएको हुँदा ऐन ल्याउन नसकेको उनले सुनाए ।
उनले भने, ‘मैले शिक्षामन्त्री भएर तीन वटा कानुन ल्याउन खोजेको थिएँँ । शिक्षामा राजनीतिकरण कम गर्नको लागि, अर्को मनपरीतन्त्र कम गर्नको लागि र शिक्षाको सुधारको लागि तीन वटा कानुन ल्याउन खोजेको थिएँ, तर कसैबाट सहयोग पाइन । अहिले चैँ समयले दिएन ।’
उनले चुनाव लडेर आफै सांसद भएर नगएसम्म कानुन सुधार्न नसक्ने देखेपछि मन्त्री पद त्यागेर चुनाव लड्न गाउँ फर्किएको सुनाए ।
मत फेर्ने ‘मूड’मा देखिए मतदाता
म्याग्दीको विभिन्न क्षेत्रका मतदाता यस पटकको निर्वाचनमा मत बदल्ने ‘मूड’मा देखिए । पटक–पटक मत दिएर संसदमा पठाएका नेताले काम नगरेको उनीहरुको गुनासो छ । बेनी नगरपालिका–७ की सायजा बेगमले चुनावका बेला भूमिहीन, गरिब र सुकुम्बासीका पक्षमा काम गर्ने बाचा गरेका नेताले सांसद बनेपछि फर्किएर नआएको बताइन् ।
‘चुनावमा भोट माग्न आउँछन् । भोट माग्न आउँदा रोजगार सिर्जनf गछौँ, लालपुर्जा दिलाउने छौँ भन्छन् तर चुनाव जितेपछि फर्किएर पनि आउँदैनन्’ उनले भनिन् – ‘तिनै गफाडीलाई त अब किन मत दिनु पर्यो ?’
मालिका गाउँपालिका–५ दाङा की ६२ वर्षीया सूर्यकुमारी सिउठानीले यस अघि जिताएका प्रतिनिधिहरुले जनचाहना अनुसार काम नगरेको गुनासो पोखिन् । गाउँमा व्यवस्थित सडक, खानेपानी, स्वास्थ्य र गुणस्तरीय शिक्षाको अभाव रहेको हुँदा त्यसतर्फ ध्यान नदिएको उनको भनाइ छ । आगामी निर्वाचनमा गाउँका सबैले एक पटक नयाँलाई मत दिने सल्लाह भएको सुनाइन् ।
उनले भनिन्, ‘पहिले त झण्डा बोकेरै प्रचारमा हिँडियो । भोट हालेर पनि धेरैलाई जिताइयो । तर उनीहरुले जनताको काम गर्न सकेनन् । चुनावमा गरेको बाचा पनि बिर्सिएर । अब हामीहरुले पुरानालाई जिताएर हुँदैन । नयाँलाई अवसर दिनुपर्छ ।’
बेनी–६ अर्थुङ्गेका ८० वर्षीय सम्मरबहादुर केसीले गाउँमा रोजगार नहुँदा धेरै युवा परदेशिनु परेको सुनाए । आफू धेरै पटक निर्वाचनमा सहभागी भएर नेतालाई जिताएको सुनाउँदै रोजगारको अवसर नहुँदा बसाइँसराइ र विदेश पलायनले गाउँ रित्तिन थालेको उनको भनाइ छ ।
‘हरेक चुनावमा रोजगार स्थापना गर्छौँ भन्छन् । गाउँमा मान्छे सकिन लागे । तर त्यो रोजगार अझै आएन । गाउँ मान्छे सकिएपछि आउने रोजगार किन चाइयो ?’ केसीले भने – ‘हामी बुढाबुढी भए पनि हाम्रा सन्ततिलाई राम्रो सुविधा दिए हुन्थ्यो, अब पुराना नेताबाट पार लाग्ने देखिएन ।’
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative