Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images
संघर्षका दिन

लठ्ठीकाे भरमा चार जनाकाे जीवन धानेका जीतबहादुर

लठ्ठीकाे भरमा चार जनाकाे जीवन धानेका जीतबहादुर

म्याग्दी । उमेरले ७२ वर्ष पार गरिसके । दुवै आँखाले संसार देख्दैनन् । हातमा एउटा लठ्ठी छ, त्यही लठ्ठी टेकेर उनी आफ्नो गन्तव्य पहिल्याउँछन् । लठ्ठीले बाटो छाम्दै, पाइला–पाइलामा ठेस खाँदै र कहिले लड्दै–उठ्दै उनी बेनी बजारका गल्लीदेखि विभिन्न ठाउँसम्म पुग्छन् ।

उनी हुन् बेनी नगरपालिका–२ बगरफाँट बस्ने जीतबहादुर कार्की । कार्कीको आफ्नै थाँतथलो भने छैन । आँखाले बाटो देख्दैन ।  तर पेटको भोकले उनलाई हरेक दिन घरबाहिर निकाल्छ । आफ्ना दुःख बिसाउँदै, सहयोगी मनहरूको खोजी गर्दै र कसैले दिएको केही रुपैयाँ समेट्दै उनी साँझ आफ्नो बासस्थानमा फर्किन्छन् ।

उनको यो यात्रा केवल आफ्नो पेट भर्नका लागि मात्र होइन । उनीसँगै एउटै छानामुनी आश्रय लिइरहेका चार वृद्धको पेट भर्नका लागि पनि हो । हाल जीतबहादुर बेनी नगरपालिका–२, बगरफाँटमा आफ्ना साढू पर्ने १०१ वर्षीय खड्गबहादुर थापासँग बस्दै आएका छन् । खड्गबहादुरकी श्रीमती खिरकुमारी थापा पनि करिब ८० वर्षकी भइसकेकी छन् । जीतबहादुरकी श्रीमती पनि वृद्ध अवस्थामै छिन् । उनले राम्रोसँग कान सुन्न सक्दिनन् र आँखाले पनि स्पष्ट देख्दिनन् ।

यसरी उमेरले थलिएका, आँखाको ज्योति गुमाएका र अरूको सहारामा बाँच्नुपर्ने अवस्थामा पुगेका चार वृद्ध एउटै छानामुनी जीवन धानिरहेका छन् । तर उनीहरूको जीवनमा सबैभन्दा ठूलो प्रश्न एउटै छ—भोलि के खाने?

चार वृद्धको घरमा नियमित आम्दानीको कुनै स्रोत छैन । सम्पत्तिको नाममा उनीहरूसँग केही छैन । खेतबारी छैन । रोजगारी गर्ने सामथ्र्य छैन ।कसैको घरमा पुगेर मागेर ल्याएको केही रुपैयाँ र सरकारले दिने जेष्ठ नागरिक भत्ता नै उनीहरूको जीवन धान्ने आधार बनेको छ ।

त्यसैले जीतबहादुर हरेक दिन लठ्ठी समातेर बाहिर निस्कन्छन् । आँखाले बाटो नदेखे पनि लठ्ठीले बाटो छाम्दै उनी छमछम गर्दै हिँड्छन् । बेनी बजार पुग्छन् । कहिले परिचितको घरमा पुग्छन्, कहिले अपरिचितको ढोकामा । आफ्नो पीडा सुनाउँछन् । कसैले दया गरेर केही रुपैयाँ दिन्छन् ।त्यही पैसाले चामल, दाल, नुन–तेललगायतका खाद्यान्न किनिन्छ । अनि चार वृद्धको चुलो बल्छ । जितबहादुरको हातमा पैसा आउनु भनेको चार वृद्धको भान्सामा आगो बल्नु हो । तर त्यो पैसा कति नै हुन्छ र?

कहिले सय रुपैयाँ, कहिले दुई सय । कहिलेकाहीँ मनकारी व्यक्तिले अलि बढी सहयोग गरिदिन्छन् । त्यही रकम जम्मा गरेर उनीहरू आफ्नो दिन काटिरहेका छन् । बगरफाँडको ‘टाकुरा’ भन्ने ठाउँमा सरकारी जग्गामा एउटा सानो छाप्रोसमेत बनाइएको जितबहादुर बताउँछन् । तर आँखाले नदेख्ने, शरीरले साथ नदिने र दैनिक जीवनका आधारभूत आवश्यकतासमेत पूरा गर्न कठिन हुने अवस्थामा त्यहाँ एक्लै बस्न सम्भव नभएपछि उनी साढू खड्गबहादुरको आश्रयमा बसिरहेका छन् ।

१०१ वर्षको उमेरमा पुगेका खड्गबहादुरको जीवन पनि सहज छैन । वृद्ध श्रीमतीसँगै उनी आफन्तको आश्रयमा जीवन बिताइरहेका छन् । अर्कोतर्फ जितबहादुर र उनकी श्रीमती पनि वृद्धावस्थामा पुगेका छन् । चार वृद्ध। चार कमजोर शरीर । चार फरक पीडा । तर एउटै छानो र एउटै समस्या—जीवन कसरी धान्ने?

उनीहरूको घरमा विलासिताको कुनै चाहना छैन । राम्रो लुगा, महँगो खाना वा सुखसुविधाको सपना पनि छैन । उनीहरूलाई त केवल दुई छाक खान पाए पुग्छ । तर त्यो दुई छाकका लागि पनि जितबहादुरले हरेक दिन अन्धकारसँग लड्नुपर्छ ।

आँखाको ज्योति गुमे पनि उनको जिम्मेवारीको ज्योति निभेको छैन । आफूले मागेर ल्याएको पैसाले चार जनाको पेट भर्न उनी दिनभरि भौँतारिन्छन् । थकित शरीर लिएर साँझ घर फर्किन्छन् । हातमा केही रुपैयाँ हुन्छ । त्यही रुपैयाँमा अर्को दिनको आशा जोडिएको हुन्छ । कहिलेकाहीँ सहयोग नजुट्दा चुलो बल्ने हो कि नबल्ने भन्ने चिन्ताले उनीहरूलाई सताउँछ ।

जीतबहादुर भन्छन् “म त मागेर भए पनि बाँचुँला, तर घरमा बसेका बूढाबूढीलाई के खुवाउने भन्ने चिन्ता हुन्छ ।” उनका शब्दमा केवल आफ्नो पीडा छैन । चार वृद्धको जीवनप्रतिको चिन्ता छ । हामीमध्ये धेरैका लागि केही सय रुपैयाँ सामान्य खर्च हुन सक्छ । एउटा चिया, खाजा वा अनावश्यक खर्चमा सकिने त्यही रकम उनीहरूका लागि भने एक दिनको भोजन बन्न सक्छ । सायद हामीले दिने सानो सहयोगले उनीहरूको जीवनमा ठूलो अर्थ राख्न सक्छ ।

लठ्ठीले बाटो छाम्दै हिँड्ने कार्कीका पाइला सहयोगी मनको खोजीमा छन् । आँखाले संसार देख्न नसके पनि उनले अझै मानिसभित्रको मानवता देखिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट