बागलुङ । भोटेकोशी बाढीमा बेपत्ता भएका बागलुङ नगरपालिका–९ तित्याङका एकै परिवारका चार जनाको कुशकाे शव बनाएर अन्तिम संस्कार गरिएको छ। १६ दिनसम्म खोजी गर्दा पनि कुनै पत्तो नलागेपछि इन्जिनियर दम्पतीसहित उनीहरूका छोराछोरीको कुशको शव बनाएर पशुपति आर्यघाटमा हिन्दु परम्पराअनुसार अन्तिम संस्कार गरिएको परिवारले जनाएको छ।
बाढीमा ३३ वर्षीय इन्जिनियर राजेश शर्मा पौडेल, उनकी ३१ वर्षीया श्रीमती इन्जिनियर प्रमिला पाठक तथा चार वर्षीय छोराछोरी आदित्य शर्मा पौडेल र आदिती शर्मा पौडेल बेपत्ता भएका थिए। घटनाको १६ दिनसम्म सम्पर्कमा नआएको र शवसमेत फेला नपरेपछि परिवारले उनीहरू जीवितै भेटिने आशा मार्दै काजकिरिया सुरु गरेको उनका आफन्ती विष्णु शर्माले बताए ।
“घटनालगत्तै परिवारका सदस्य तथा आफन्त प्रभावित क्षेत्रमा पुगेर निरन्तर खोजी गरे पनि कुनै पत्तो लागेन,” उनले , “१६ दिनसम्म पनि अवस्था थाहा नभएपछि हिन्दु संस्कारअनुसार अन्तिम संस्कार गर्नुपरेको हो।”
एकै परिवारका चार जना भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीमा परी बेपत्ता भएपछि परिवार, तित्याङ गाउँसहित परिवार र आफन्तजन शोकमा डुबेका छन्। शर्माका अनुसार बाढी आउनुअघि राजेशका छोराछोरी विद्यालयसमेत गएका थिएनन्। उनीहरू आमाबुबासँगै जलविद्युत् आयोजनाको विद्युत्गृह नजिकैको क्वाटरमा बस्दै आएका थिए।
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative
© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative