Logo

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

Oct 29 2026 | २०८३, कात्तिक १३ गते

images
स्थानीय उत्पादनलाई प्राथमिकता

‘मेड इन बागलुङ’मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन (भिडियाे)

‘मेड इन बागलुङ’मार्फत स्थानीय उत्पादनको प्रवर्द्धन (भिडियाे)

बागलुङ । ‘मेड इन बागलुङ’मार्फत बागलुङका साना तथा मझौला उद्यमीले उत्पादन गरेको वस्तुको प्रप्रवर्द्धन र बजारीकरण गर्न थालिएको छ । उद्योग वाणिज्य संघले आयोजना गरेको आठौँ बागलुङ महोत्सवमा स्थानीय उत्पादनका लागि ‘मेड इन बागलुङ’ कक्ष स्थापना गरि प्रवर्द्धन गर्न थालिएको हो । स्थानीय उत्पादन मात्रै राखेर प्रचारप्रसार र विक्री गर्ने स्टललाई ‘मेड इन बागलुङ’ नाम दिइएको छ ।

‘मेड इन बागलुङ’ स्टलमा तमानखोला गाउँपालिकामा उत्पादन भएका ऊन र ढाकाको कपडा, मकैको आटो, कोदोको पिठो, गाईभैँसीको घ्यू र तामाका भाँडाकुँडा राखिएको छ । गाउँपालिकाले छ वटै वडाका उद्यमीले उत्पादन गरेका वस्तुलाई लिएर विक्रीका लागि राखेको हो ।

तमानखोला–३ उद्यमी गीता बुढाथोकीले गाउँमा महिला आमा समूहले वर्षौँदेखि उनका कपडा उत्पादन गर्दै आएको तर प्रचारप्रसार नहुँदा बजारीकरणमा समस्या भएको भन्दै ‘मेड इन बागलुङ’ स्टलमा राखेपछि एकै दिन ठूलो हजारौँ रुपैयाँको सामान विक्री भएको सुनाइन् ।

पालिकालेनै गाउँबाट बागलुङ बजारसम्म ल्याउनका लागि ढुवानीको व्यवस्थापन गरि दिएको भन्दै स्टलमा आउने धेरैले गाईभैँसीको घ्यू र ऊनका कपडाहरु खरिद गरेर लैजाने गरेको उनको भनाइ छ । महोत्सवममा धेरै मानिसहरुको जमघट हुने र उत्पादन भएका वस्तुको प्रचारप्रसार हुँदा अगामी दिनमा गाउँबाटै पनि विक्री हुने अपेक्षा लिएको बुढाथोकी बताउँछिन् ।

बुढाथोकीले भनिन् – “हामीहरुले गाउँमा ढाका र ऊनका कपडा बनाउन थालेको ६÷७ वर्ष भयो, तर अहिलेसम्म गाउँमा आएर किन्ने निकै कम भए, प्रचारप्रसार पनि हुन नसकेर होला बजारको साह्रै समस्या थियो, यसपाली महोत्सवमा ‘मेड इन बागलुङ’मार्फत प्रचारप्रसार हुने र विक्री पनि हुन्छ भने पनि हाम्रो उत्पादनलाई लिएर आएका थियौँ, सोचेभन्दा राम्रो व्यापार भएको छ, अहिले प्रचार भएपछि आगामी दिनहरुमा गाउँबाट पनि विक्री हुनेछ भन्ने अपेक्षा लिएका छौँ ।”

‘मेड इन बागलुङ’ स्टलमा ताराखोलामा उत्पादन भएको सिस्नो पाउडर, भाँगो, सिमी, मह, किवी, डाला, नाङ्ला, ठेका र अल्लोका कपडाहरु राखिएको छ । पुस ११ गतेदेखि स्टलमा सामान लिएर राखेपछि किन्ने ग्राहकको भिड लाग्ने गरेको ताराखोला गाउँपालिका–३ की देउकुमारी रोका मगरले बताइन् । समूहमार्फत गाउँमा धेरै वस्तु उत्पादन हुने तर बजार नपाउँदा नष्ट हुने गरेको भन्दै महोत्सवले विक्री वितरण र प्रचारमा ठूलो टेवा पु¥याएको सुनाइन् ।

‘मेड इन बागलुङ’मार्फत बिहुँ, सिगाना, दमेक, अर्जेवा लगायतका स्थानमा किसानले उत्पादन गरेका सुन्तला, तरकारी  र फलफूलहरुसमेत विक्री गर्न थालिएको छ । किसान स्वयम् ‘मेड इन बागलुङ’ स्टलमै बसेर विक्री वितरण गर्ने गरेका छन् । मेला महोत्सवमा स्थानीय उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको हुँदा ‘मेड इन बागलुङ’मार्फत विक्री वितरण र प्रचारप्रसार गर्न थालिएको उद्योग वाणिज्य संघ बागलुङका वरिस्ठ उपाध्यक्ष ऋषिराम गौतमले बताए ।

“महोत्सवलाई रमाइलो गर्नका लागि मात्रै होइन स्थानीय स्तरमा उत्पादन भएका वस्तुको प्रवद्र्धन र विक्री गर्ने थलोका रुपमा विकास गर्नु पर्छ भन्ने हिसाबले लागेका छौँ, साना तथा मझौला उद्यमी र किसानलाई निःशुल्क रुपमा विक्री र उनीहरुको उत्पादनको प्रचारप्रसारका लागि ‘मेड इन बागलुङ’ नाम दिएर सोहीमार्फत अगाडि बढाएका छौँ” गौतमले भने – “यसले किसान र उद्यमीलाई ठूलो टेवा पु¥याएको छ, यसलाई अरु बेला पनि निरन्तरता दिन जरुरी छ ।”

उद्योग वाणिज्य संघले अघिल्लो वर्षदेखि बागलुङ बजारमा स्थानीय उत्पादनको विक्रीका लागि कोसेली घरसमेत संचालन गर्दै आएको छ । यस वर्षको महोत्सवमा ‘मेड इन बागलुङ’ स्टल विशेष बनेको छ । गत शुक्रबारदेखि सुरु भएको महोत्सव आगामी २१ गतेसम्म संचालन हुनेछ । ‘मेड इन बागलुङ’स्टल पनि महोत्सव संचालन हुँदासम्म संचालन हुनेछ । 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट