Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images
बिजनेस

मुस्ताङमा स्याउ टिप्न सुरु

मुस्ताङमा स्याउ टिप्न सुरु

मुस्ताङ । मुस्ताङमा सबै प्रजातिका स्याउ टिप्न सुरु भएको छ। एक साताअघिदेखि छिटो पाक्ने उच्च घनत्वका गाला, किङरोडलगायतका स्याउ टिप्न सुरु गरेका कृषकले सोमबारदेखि रैथाने प्रजातिअन्तर्गतका रेड, रोयल, गोल्डेन, रिचा रेड डेलिसियसलगायतका स्याउ बजारमा पठाउन थालेका छन्।

बगैँचामा फलेका स्याउ पाक्न थालेपछि स्थानीय कृषक तथा व्यापारीहरू स्याउ टिप्न व्यस्त छन्। बोटमा स्याउ पाकेको र चाडपर्वको सिजन सुरु भएकाले व्यापारीले बगैँचा नै ठेक्कामा लिएर स्याउ खरिद गरिरहेका छन्। कृषि तथा पशु विकास कार्यालय मुस्ताङले जनाएको छ। कार्यालयकी निमित्त प्रमुख बबिता नेपालीले उच्च घनत्वका स्याउ बजारसम्म पुगिसकेको अवस्थामा स्थानीय प्रजातिका स्याउसमेत भदौ महिनामै बजारमा पुग्ने बताए।

“भदौ महिनाभित्र रैथाने स्याउसमेत बजारमा पुग्छ। पकेट क्षेत्रमै धमाधम टिप्न सुरु भएको छ,” उनले भनिन्। जिल्लाको थासाङ, घरपझोङ र बारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा स्थानीय प्रजातिका स्याउ उत्पादन हुने गरेको छ।

जिल्लामा उत्पादित स्याउ कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–बेनी सडकखण्ड हुँदै सवारीसाधनमार्फत म्याग्दी, बागलुङ, पर्वत र कास्की हुँदै देशका विभिन्न सहरमा ढुवानी हुने बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४, तिरीका आङ्ग्या (ङवाङ) गुरुङले बताए।

कृषक गुरुङले भने, “सबै प्रकारका स्याउ टिप्न सुरु भएपछि ढुवानीमा समेत सहज हुन्छ। अहिले उत्पादन पनि राम्रो छ, बजारमा माग पनि अत्यधिक छ।” जिल्ला समन्वय समिति, पाँचवटै स्थानीय तह, शीतोष्ण बागवानी विकास केन्द्र (मार्फा), प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना तथा परियोजना कार्यान्वयन एकाइ स्याउ जोन (मुस्ताङ) ले निर्धारण गरेको स्याउ टिप्ने कार्यतालिका स्थानीय कृषक, समूह, सहकारी संस्था र स्याउ फार्मले पालना गरेका छन्।

जिल्लाको थासाङ, घरपझोङ, बारागुङ मुक्तिक्षेत्र, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा स्याउ खेती गरिएको छ। ८३० हेक्टर क्षेत्रफलमा स्याउ खेती भएकामा ५६६ हेक्टर क्षेत्रफलमा लगाइएका स्याउका बोटबाट ६ हजार ७८ मेट्रिक टन स्याउ उत्पादन हुने लक्ष्य राखिएको छ। प्रतिहेक्टर १० दशमलव ७४ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

त्यसैगरी, उच्च घनत्वको स्याउ खेती ६५ हेक्टर क्षेत्रफलमा फैलिएको छ। यसबाट आठ हजार ४९६ मेट्रिक टन स्याउ उत्पादन हुने अनुमान गरिएको छ। गत वर्ष ८३७ हेक्टर क्षेत्रफलमा स्थानीय प्रजातिका स्याउ खेती गरिएको थियो। उक्त क्षेत्रफलबाट ६ हजार ६८४ मेट्रिक टन स्याउ उत्पादन भई ७८ करोड ८९ लाख रुपियाँ बराबरको कारोबार भएको थियो। त्यस्तै, उच्च घनत्वको स्याउबाट २४ दशमलव ५४ मेट्रिक टन स्याउ बिक्री गरी ३१ करोड ३४ लाख रुपियाँ बराबरको कारोबार भएको थियो।

मुस्ताङको तल्लो क्षेत्रमा हुँदै आएको स्याउ खेती पछिल्लो समय उपल्लो मुस्ताङसम्म विस्तार भएपछि यस वर्ष कारोबारसमेत बढ्ने अनुमान गरिएको छ। रसिलो र गुलियो, आकारमा ठुलो तथा धेरै दिनसम्म ताजा रहने भएकाले मुस्ताङको स्याउको बजारमा माग उच्च छ। मुस्ताङको रैथाने स्याउ बजारमा आएपछि भारतीय, चिनियाँलगायत विदेशी स्याउको आयातमा समेत कमी आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट