Logo

Sep 11 2026 | २०८३, भदौ २६ गते

Sep 11 2026 | २०८३, भदौ २६ गते

images
व्यवस्थापन

बागलुङ बजारका छाडा कुकुर राख्न ‘डग होस्टेल’ (भिडियाे रिपाेर्ट)

बागलुङ बजारका छाडा कुकुर राख्न ‘डग होस्टेल’ (भिडियाे रिपाेर्ट)

बागलुङ । छाडा कुकुरले बजार क्षेत्रका नागरिकलाई आजित बनाएपछि बागलुङ नगरपालिकाले ‘डग होस्टेल’ स्थापना गरेर व्यवस्थापन गर्न थालेको छ । बागलुङ बजारका सडक, चोक र गल्लीमा बस्ने सामुदायिक कुकुरको व्यवस्थापनका लागि बागलुङ नगरपालिकाले ‘डग होस्टेल’ संचालनमा ल्याएको हो । सामुदायिक कुकुरले बजार क्षेत्रमा जोखिम बढाएपछि बागलुङ नगरपालिकाले ‘डग होस्टेल’ संचालनमा ल्याएको हो ।

नगरपालिकाले वडा नम्बर ३ मा होस्टेल निर्माण गरि कुकुरको व्यवस्थापन गर्दै आएको छ । हाल होस्टेलमा ३० वटा कुकुर छन् । छाडा छोडिएका कुकुरलाई नियन्त्रणमा लिएर होस्टलमा राख्ने गरिएको छ । नवप्रवद्र्धन कार्यक्रमअन्तर्गत बागलुङ नगरपालिकाले मुख्यमन्त्री कार्यालयको साझेदारीमा एक करोड रुपैयाँ लागतमा कुकुर होस्टेल बनाएको हो ।

नगरपालिकाको ३५ लाख रुपैयाँ र गण्डकी प्रदेशेको ६५ लाख रुपैयाँ खर्चमा होस्टेलसहितका संरचना निर्माण गरिएको छ । सडकमा छाडा छाडिने कुकुरबाट हुने जोखिम र रेबिज लगायतका रोग नियन्त्रण गर्न होस्टेल संचालन गरिएको हो । नगरपालिकाले बजार क्षेत्रमा रहेका रोगी, अशक्त र अपाङ्ग कुकुरको उद्धार गरि होस्टेलमा उपचारसमेत गरिदै आएको छ ।

नगरपालिकाले घरघरमा पालिएका र सडकका कुकुरलाई रेबिजविरुद्धको खोप समेत दिएको छ । कुकुरका लागि चाहिने सबैखाले औषधि पनि नगरले निःशुल्क दिन्छ । घरमा पालिएका कुकुर अनिवार्य दर्ता गर्नुपर्ने प्रावधानसमेत नगरपालिकाले बनाएको छ । दर्ता गर्दा दुई सय रुपैयाँ शुल्क तिर्नुपर्ने छ । पछिल्लो समय होस्टेल अवलोकनका लागि मान्छेहरु आउने गरेका छन् ।

दर्ता गरिएका कुकुरलाई नगरले खोप र औषधि सेवा निःशुल्क दिन्छ । मृत्यु भएमा शव व्यवस्थापन पनि नगरपालिकाले नै गर्दै आएको छ । नगर प्रहरीको सहयोगमा पशु विकास शाखाले छाडा कुकुरलाई खोप लगाउने र समातेर होस्टेल पठाउने काम गरिरहेको छ । कुकुरको रेखदेखका लागि नगरपालिकाले होस्टलमा एक जना कर्मचारी खटाएको छ । कुकुरलाई विहान मासु, भात साँझ दूध र भात खुवाउने गरेकोमा अब साहाकारी भोजन गराउने योजना नगरपालिकाले बनाएको छ ।

यस अगाडि कुकुरका कारण बजार क्षेत्रमा धेरै दुर्घटना हुने गरेको थिए । अब भने छाडा कुकुरका कारण हुने जोखिम कम हुने अपेक्षा लिइएको छ । 

 

प्रतिक्रिया दिनुहोस
सम्बन्धित समाचार

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

© 2026 All right reserved to sajhaaawaj.com Powered by Web Creative

नयाँ अपडेट